Skip to content
Prabhu

मौद्रिक नीतिः सम्पत्ति व्यवस्थापन ऐन र एआई मार्गदर्शन ल्याइने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा बनाएर सरकारलाई बुझाउने र कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) मार्गदर्शन तयार पार्ने योजना सार्वजनिक गरेको छ ।

‘बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता(आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सिर्जना हुनसक्ने जोखिम पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ’, राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षभित्र सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तयार पारेर सरकारलाई बुझाउने लक्ष्य पनि राष्ट्र बैंकले लिएको छ । ‘बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेश गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । त्यसैगरी मौद्रिक नीतिले ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टकृत संस्थाबाट जारी गरिएका ऊर्जा बन्डलगायत ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था ल्याएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि गरिएका व्यवस्थालाई थप प्रभावकारी बनाउन अधिक जोखिम रहेका विभिन्न क्षेत्रका सूचक संस्थालाई ‘गो–एएमएल’ प्रणालीमा आवद्ध गरिने नीति पनि लिइएको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal