Skip to content
Prabhu

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

nabil

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मेयर्स फोरमले आज विज्ञप्ति जारी गरेर बिदा दिने निर्णय गरेको जनाएको छ । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । नकर्मीको हिजो निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । ‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको छ । उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।’

यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि विज्ञप्ति जारी गर्दै नकर्मीका असामयिक निधन भएकामा नगरपालिका परिवार अन्यन्त मर्माहत भएको र यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले यही साउन १३ गते चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा शोक बिदा गरिएको जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal