Skip to content
Prabhu

साताको सेयरः परिसूचक करिब ६ प्रतिशत बढ्यो, दैनिक औसत कारोबार १४ अर्ब बढी

काठमाडौं । यो साता नेप्से परिसूचक करिब ६ प्रतिशत बढेको छ । यो हप्ताको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५.९३ प्रतिशतले बढेर बन्द भएको हो ।

एक साताको अवधिमा सेयर बजारमा १४३ दशमलव ८१ अंकको वृद्धि भएको छ । नयाँ सरकार बनेपछि लगातार रूपमा बढिरहेको सेयर बजार यो साताको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५६८ दशमलव १३ विन्दुमा पुगेको छ । गत साता परिसूचक २४२४ दशमलव ३२ विन्दुमा रहेको थियो ।

यो साता पाँच दिन नै सेयर बजार कारोबार भयो । जसमध्ये एक दिन मात्रै सेयर बजार घटेको थियो भने बाँकी ४ दिन सेयर बजार बढेको थियो । यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक २७ अंकले घटेको थियो । बाँकी सबै दिन सेयर बजारमा उच्च वृद्धि भएको थियो ।

यो साता ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ५.४८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७२ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकममा पनि सुधार भएको छ । यो साता दैनिक औषतमा १४ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएको छ । गत साता दैनिक औषत १० अर्ब ६२ करोडको सेयर खरिद बिक्री भएको थियो ।

गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम ४ अर्ब १० करोड अर्थात ३८.६४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, यस साता दैनिक औसत कारोबार संख्या ३३.१२ प्रतिशत बढेको छ भने दैनिक औसत सेयर संख्या ३५.९२ प्रतिशत बढेको छ ।

यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ५ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २ खर्ब २८ अर्ब रुपैयाँ बढेर ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.६७ प्रतिशत बढेको छ । यो उपसमूहको परिसूचक गत साता ३३८१ दशमलव ४९ विन्दुमा बन्द भएको थियो । यो साता यो उपसमूहको परिसूचक ३९४ दशमलव ६५ अंक बढेर ३७७६ दशमलव १४ विन्दुमा बन्द भएको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा कम २.८२ प्रतिशत बढेको छ ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ९४६ दशमलव ८० अंक बढेको छ । गत साता ११,९२४ दशमलव ३७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यो साता १२,८७१ दशमलव १७ विन्दुमा पुगेको छ ।

यस साता नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक ३९.२१ प्रतिशत बढेको छ । त्यस्तै, यस साता एशियन हाइड्रोपावरको सेयरमूल्य करिब साढे ३७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब २५ प्रतिशत बढेको छ । यस साता सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १२.९० प्रतिशत घटेको छ । त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य साढे १२ प्रतिशत घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal