Skip to content
Prabhu

मौद्रिक नीतिको प्रभावः आइतबार नेप्से ११३ अंकले बढ्यो, कारोबार रकम १५ अर्ब ८१ करोड

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार दुईपटक सर्किट ब्रेक लागेको बजार त्यसपछि भने सम्हालिएको थियो । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार ४.४१ प्रतिशतले बढेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११३ दशमलव ४२ अंकले बढेर २६८१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढ्ने कम्पनीमा अधिकांश वाणिज्य बैंक छन् । आज १० वाणिज्य बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एक लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । त्यस्तै हाथवय इन्भेष्टमेन्टको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

आज सेयर बजारमा १५ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिद बिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २६ दशमलव ७८ अंकले बढेर ४८६ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र नबिल बैंकको सेयर मूल्यमा १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ । त्यस्तै उपकार लघुवित्त र हाथवय इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य पनि १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ ।

आज लघुवित्त सूचकांकबाहेक १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ । लघुवित्त समूहको सेयर मूल्य १० दशमलव ०६ अंके घटेको छ । आज सबैभन्दा धेरै बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेको छ । यो उपसमूहको परिसूचक १४१ दशमलव ७६ अंकले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal