Skip to content
Prabhu

दैलेख र कालीकोटको सिमाना महावै पाटनमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । दैलेख र कालीकोको सीमाना रहेको महावै पाटनको दृश्य हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण गन्तव्य बन्दै गएको हो ।

पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको कालीकोटको महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए । दैलेख र कालीकोटको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा समेत जोड दिन थालेका छन् ।

महावै पाटनका नामबाट दैखेल र कालीकोटका दुई स्थानीय तहको नामाङकरण समेत गरिएको छ । यो पाटनको नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमाका दिन त्यहाँ मेला लाग्ने गर्दछ ।

शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको छ । ‘पूजाप्रार्थना गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ’, शाहीले भने, ‘शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन् ।’

देशका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ । ‘यहाँको पर्यटन प्रबर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ’, उनले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।’

धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगञ्जका अधिकांश स्थान देख्न सकिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal