Skip to content

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…

nabil bank

काठमाडौं । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वाभाविकै हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिए।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापा बसाइ सरेको हो ।

‘हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला’, कांग्रेस सांसद गुरुङको सो आग्रहलाई प्रधानमन्त्री ओलीले हँसिलो मुुद्राका साथ श्रवण गरेका थिए।

प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठ्राई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माणसम्बन्धी लिखित मागपत्रलाई आवश्यक कारवाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिए।

लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङको चाहना पनि ती माग कार्यान्वयन हुनुपर्छ भन्ने रहेको छ । यस्तै सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघुु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराए ।

चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशिघ्र सम्पन्न गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime