Skip to content
Prabhu

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।

यसअघि काठमाडौं उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ ।

स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईले बताए । उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो । बाग्मती प्रदेश सरकारले साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस्तै आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने बजगाईले बताए । उनले भने, ‘सेवा लिन आएका नागरिकलाई छिटोछरितो सेवा दिनेगरी व्यवस्थापनमा लागेका छौँ ।’ उनका अनुसार करिब एक महिनामा कार्यालयले १ करोड ७७ लाख ४८ हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal