Skip to content
Prabhu

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न सांसदको माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्न सांसदहरुले माग गरेका छन् । आजको संसद् बैठकमा बोल्दै सांसदहरुले अधिकारीलाई निलम्बन गर्न माग गरेका हुन् ।

आजको संसद बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर दाबी गरे ।

‘अहिलेका डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा दिएन भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन ?,’ उनले भने, ‘हामीले विभिन्न घटनाहरुमा सबैले संसदमा बोल्छौं । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौं । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’

त्यस्तै सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताए । सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने उनको भनाइ थियो । लामो समयदेखि आफूहरुले यसबारे बोलिरहेको भए पनि कसैले नसुनेको उनको भनाइ छ । कहिले पनि सेवा प्रदायक र नियामक एउटै नहुने उनले बताए । प्राधिकरणमा नेताहरुको खल्तीमा करोडौं भर्नका लागि प्रदीप अधिकारीलाई डीजी बनाएर राखिएको उनको आरोप छ ।

‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेन । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो । कहिले पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन,’ उनले भने, ‘तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डीजी बनाएर राखिएको छ । उसले समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal