Skip to content
Prabhu

विपद् कसैको काबुमा हुँदैन,वायुसेवा कम्पनी उड्डयन सुरक्षाप्रति संवेदनशील छन्ः वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले सौर्य एयरलाइन्सले सुरक्षाका मापदण्ड पूरा गरेर उडान गरेको बताएको छ । साउन ९ गते बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटानामा कम्पनीको सुरक्षा कमजोरी भएको टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै संघले विपद् कसैको काबुको विषय नभएको बताएको हो ।

संघले आज विज्ञप्ति जारी गर्दै साउन ९ गते बिहान त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा विमान कम्पनी र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरक्षाका विषयमा भएको टिप्पणी प्रति असहमति जनाएको हो । सौर्य एयरलाइन्सको विमान असार ९ गते काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । जसमा १८ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा विमानका चालक घाइते भएका छन् ।

‘२०८१ साल साउन ९ गते बुधवारका दिन बिहान यस संघका सदस्य वायुसेवा कम्पनी सौर्य एयरलाइन्स प्रालिको जहाज मर्मतका लागि काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटना भई विमानमा सवार क्याप्टेनबाहेक अन्य सम्पूर्ण यात्रुहरुको दुःखद् निधनप्रति यो संघ हार्दिक समवेदना व्यक्त गर्दछ । साथै दुर्घटनामा गम्भीर घाइते भई उपचारत क्याप्टेन मनिष रत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।

घटना/दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनीलगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन र यो कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका प्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै संघले विज्ञप्तिमा अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले निदृष्ट गरेको प्रावधान अनुरुप यस वायुसेवा सञ्चालक संघ नेपाल, संघका सदस्य वायुसेवा कम्पनीहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको बताएको छ ।

‘प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझाबहरु अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्नुका साथै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरु पूर्ण रुपमा पालना भए नभएको बारे सम्बन्धित निकायले समय समयमा अनुगमन गर्ने गरेको बेहोरा आम जनसमुदाय तथा यात्रु महानुभावहरुलाई जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमार्फत संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा सदैव प्रतिबद्ध रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं भनिएको छ ।

हवाई सुरक्षा लागतसँग तुलना नहुने र सुरक्षाका लागि जस्तोसुकै मूल्य व्योहोर्न पनि संघ, सदस्य वायुसेवा कम्पनीहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हरपल तयार रहेको व्यहोरा अवगत गराउँदै यस प्रकारको भ्रामक तथा कपोलकल्पित समाचार प्रकाशित हुनु अत्यन्त दुःखद् रहेको र कुनै पनि समाचार वा विचार प्रकाशित गर्नु पूर्व सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरी सत्य तथ्य समाचार प्रकाशित गरिदिनु हुनसमेत संघले अपिल गरेको छ ।

हालका दिनहरुमा संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणवाट भए गरेका काम कारवाहीहरु तथा घटना÷दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भई रहेकोले संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगरिदिनु हुनसमेत यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबैमा यो संघ हार्दिक अपिल गर्दछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal