Skip to content
Prabhu

एनआरएनए निर्वाचन गराउन ३० दिनभित्र बैठक बस्नुपर्ने घले तयार नभए उपेन्द्र महतोले जिम्मा पाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को १० औं महाधिवेशन गराउन ३० दिनभित्र शेष घले नेतृत्वको समितिको बैठक बस्नुपर्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायधीशद्धय सपनाप्रधान मल्ल र नहकुल सुवेदीको सयुक्त इजलाशले दुई स्थानमा भएको १० औं महाधिवेशनलाई खारेज गरेको छ ।

१० औं महाधिवेशन गराउने जिम्मा पूर्व अध्यक्ष तथा तत्कालिन प्रमुख संरक्षक रहेका शेष घलेले जिम्मेवारी पाएका थिए । सर्वोच्चको पूर्णपाठ साउन १५ गते सार्वजनिक भएको छ । पूर्णपाठ सार्वजनिक भएको एक महिनाभित्र समितिको बैठक बस्नुपर्ने छ । समितिको बैठक बसेको ६ महिनाभित्रमा १० औं महाधिवेशन गर्नुपर्ने छ । संयोजक रहेका घलेले महाधिवेशन नगराएमा त्यसपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले महाधिवेशन गर्ने जिम्मा पाउनेछन् ।

‘गैरआवासीय नेपाली संघको मिति २०७८।१०।०१ मा आयोजित अन्तर्राष्ट्रिय समन्वय परिषदको ८१ औं बैठकले “गैर आवासीय नेपाली संघको वर्तमान परिस्थितिमा निकास दिनुको साथै संघमा आपसी एकता र भाईचारा कायम राख्दै वास्तविक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा स्थापित गर्न” भनी संघमा उत्पन्न सम्पूर्ण गतिरोधमा निकास दिने र संघलाई एकताबद्ध र गरिमायुक्त बनाई लैजाने उद्देश्यका लागि संघका पूर्व अध्यक्ष डा शेष घले, डा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र कुमारप्रसाद पन्तलगायतका संघलाई जन्माउन र पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरु संलग्न एक उच्च स्तरीय समिति गठन भएको, सो समिति गठन गर्ने सम्बन्धमा कुनै विवादसमेत भएको नदेखिएकाले सो विन्दुसम्म उक्त संघ विधि, विधान, नियम र प्रक्रियासम्मत तरिकाले ऐनको उद्देश्यअनुरूप गैर आवासीय नेपालीहरूको पारस्पारिक सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले साझा मञ्चको रूपमा रही आएको भनी मान्नुपर्ने र सो मिति पश्चात् उक्त संघमा कानूनले निर्देश गरेबमोजिमको विधि प्रक्रिया तथा संस्थाको आधारभूत उद्देश्य र मूल्य मान्यता समेत प्रतिकूलका काम कारवाई तथा निर्णय भए गरेको देखिन आएकाले सोही मितिको निर्णयमा आधारित भई गैर आवासीय नेपाली संघको मर्म र उद्देश्य अनुरुप संघको सदस्यता, महाधिवेशन प्रतिनिधि छनोट, निर्वाचन वा अधिवेशन आयोजना गर्ने सम्बन्धी निर्णय गर्न उपयुक्त देखिएकाले देहायबमोजिम गर्नु गराउनु भनी विपक्षी परराष्ट्र मन्त्रालयको नाउँमा यो आदेश जारी गरिएको छ’, फैसलामा भनिएको छ । उच्चस्तरीय समितिको संयोजक घले रहेका थिए ।

जसअनुसार ०७८ माघ १ मा सम्पन्न ८१ औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई यथावत् राख्ने, समितिमा याक एण्ड यतिमा १० औँ महाधिवेशन गरेर नेतृत्वमा आएका कुँवर पक्षको अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः विनोद कुंवर, उमेश कुमार पुडासैनी र जानकी गुरुङ्ग तथा होटेल हिमालयमा १० औँ महाधिवेशन गर्ने कुल आचार्य, डा बद्री केसी र रविना थापासमेत जम्मा ६ जना थप गर्ने फैसलामा उल्लेख छ ।

घले नेतृत्वको उक्त समितिले अबको ३० दिनभित्र पहिलो बैठक बसी सोको ६ महिनाभित्र संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरेर एकताको महाधिवेशन गर्नुपर्ने फैसलाको पूर्णपाठमा उल्लेख छ । यस्तै समितिको संयोजक (घले)ले कुनै कारण देखाई समितिमा बस्न असमर्थता जनाएमा उपेन्द्र महतो वा निजले पनि असमर्थता जनाएमा तेस्रो व्यक्ति जिवा लामिछानेले बैठकको संयोजक भई काम गर्ने फैसलामा उल्लेख छ ।

यस्तै समितिले निर्णय गर्दा बहुमतका आधारमा निर्णय गर्ने र कुनै विषयमा मत बराबर भएमा संयोजकले निर्णयक मत दिन सक्ने फैसलामा उल्लेख छ । यसबाहेक अन्य कार्यविधि समितिले आफै निर्धारण गर्ने फैसलाको पूर्णपाठकमा उल्लेख गरिएको छ ।

सर्वोच्चले होटल हिमालयमा महाधिवेशन गरेर तीन जना अध्यक्ष सहितको अन्तर्राष्ट्रिय समन्वय परिषद (केन्द्रीय समिति) बनाएपनि सो कार्यसमितिले विधानअनुसार महाधिवेशन सम्पन्न नगरेको ठहर गरेको छ । ‘कार्य समिति गठन गरेको भनिएकोमा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम १३ मा संघको साधारण सभा सम्बन्धी व्यवस्था विधानमा व्यवस्था भए बमोजिम हुने कानुनी प्रावधान रहेको र विधान संशोधनको विधि प्रकृयासमेत विधानले निर्धारण गरेकोमा उक्त महाधिवेशन नै चैत्र १२–१३ मा सम्पन्न भएको भनिएकोमा सो अधिवेशनले रितपूर्वक विधान पारित गरी परराष्ट्र मन्त्रालयले प्रक्रियासम्मत हिसाबले प्रमाणीकरण गरी उक्त संशोधित विधानअनुसार महाधिवेशन तथा निर्वाचन सम्पन्न गरेको भन्ने मिसिल संलग्न महाधिवेशन सम्बन्धी कागजातबाट देखिन आउँदैन’, फैसलामा भनिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal