Skip to content
Prabhu

दुई महिनादेखि बीमा प्राधिकरण कार्यकारी निर्देशकविहीन, अध्यक्ष भन्छन् असोज–कात्तिकभन्दा अघि नियुक्ति हुँदैन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पद रिक्त रहेको २ महिनाभन्दा बढी भइसक्यो । बीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले जेठ १२ गते अनिवार्य अवकाश पाएपछि अहिलेसम्म प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको हो ।

कार्यकारी निर्देशकको पद रिक्त रहेको लामो समय वित्तिसक्दा पनि अहिलेसम्म नियुक्ति प्रक्रिया सुरुसमेत हुन सकेको छैन । बीमा प्राधिकरणमा कार्यकारी निर्देशक पद अध्यक्ष पछिको दोस्रो वरियताको पद हो । अध्यक्ष राजनीतिक नियुक्त हुन्छ भने कार्यकारी निर्देशक कर्मचारीबाट नियुक्त हुने व्यवस्था छ । तर राजीतिक दाउपेचका कारण कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थप पेचिलो बनिरहेको देखिन्छ ।

कर्मचारीबाट नियुक्त गर्नुपर्ने पदमा अहिले बीमा प्राधिकरणका ३ जना निर्देशक दावेदार छन् । अहिले प्राधिकरणमा रहेका निर्देशकहरु कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल अधिकारीमध्ये एक जना कार्यकारी निर्देशक हुने छन् ।

लामो समयदेखि कार्यकारी निर्देशक रिक्त हुँदा कार्यसम्पादनमा समस्या भइरहेको प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । अहिले प्राधिकरणले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पनि कसैलाई दिएको छैन ।

कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया लोक सेवा आयोगले स्वीकृति नदिएका कारण रोकिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको भनाइ छ । लोकसेवा आयोगले एक आर्थिक वर्षमा एक पटक मात्रै परीक्षाका लागि स्वीकृति दिने भएकाले कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा केही समय ढीलाई भएको उनले बताए ।

‘नयाँ आर्थिक वर्ष सुरु भएको छ । कार्यसम्पादन मूल्यांकनको फर्म अहिले सबैले भरिरहेका छन् । कार्यसम्पादन मूल्यांकन भए पछि लोकसेवाले सहमति पनि देला अनि बल्ल नियुक्ति प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

सबै प्रक्रिया पूरा गर्दा कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अझै समय लाग्ने उनको भनाइ छ । ‘असोज–कात्तिक भन्दा पहिले कार्यकारी निर्देशक नियुक्त हुँदैन,’ उनले भने । कार्यकारी निर्देश नियुक्ति प्राधिकरणले मात्रै चाहेर हुने विषय नभएकाले सबै प्रक्रिया पुरा गरेर नियुक्ति गर्नु पर्ने अध्यक्ष सिलवालले बताए । ‘हामीले गर्न खोजेको पनि हो । उहाँहरुको प्रक्रिया नमिल्ने भए पछि रोकिएको हो । यो प्रक्रिया फेरि सुरु हुन्छ,’ उनले भने ।

अहिले कार्यकारी निर्देशकका लागि तीन जना उम्मेदवार रहेका छन् । कार्यकारी निर्देशक बन्नका लागि पाँच वर्ष निर्देशक पदमा काम गरेको हुनुुपर्ने हुन्छ । जस अनुसार अहिलेका निर्देशक कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेले कार्यकारी निर्देशकको लाइनमा छन् । सुवेदी अहिले प्राधिकरणको प्रवक्ताको जिम्मेवारी पनि रहेका छन् । ३ जनामध्ये सबैभन्दा वरिष्ठ रेग्मी हुन । तर उनलाई नेतृत्वले नपत्याएका कारण उनको सम्भावना कम देखिन्छ ।

सुवेदी निर्देशक भएको साउन एक गते पाँच वर्ष पुगेको हो । महिला भएकाले ढुङ्गेलको योग्यता चार वर्षमा नै कार्यकारी निर्देशकको योग्यता पुगेको थियो । सुवेदी र ढुङ्गेसँगै बढुवा भएका हुन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal