काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा करिब २५ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा २४.८१ प्रशितले कमी आएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढे पनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.२८ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ ।
यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनफा १७.२२ प्रतिशत घट्न गई नाफा पनि घट्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७८ पैसा घटेर २ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्