Skip to content
Prabhu

आईपीओ प्रक्रिया नरोक्न ४ संगठनको माग

काठमाडौं । सेयर बजारका ४ संघठनहरुले आईपीओ प्रक्रिाय नरोक्न माग गरेका छन् । संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनीहरुले बताएका छन् ।

धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सेयर निष्कासनको प्रक्रियाहरू अगाडि बढ्न नसकिरहेको भन्दै छिटो स्वीकृत दिनुपर्ने उनीहरुको माग रहेको छ । साथै अतियोग्य कम्पनी बाहेक प्रिमियम र बुकबिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न निरुत्साहित गर्न भनेका छन् । कम्पनीहरूको सेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक सेयर निष्कासन गर्ने अनुमति दिनुपर्ने उनीहरुको माग छ ।

‘नेपालको पुँजी बजारको आकार दिनप्रतिदिन बढिरहेको छ र आगामी दिनमा यसको क्षेत्र व्यापक रूपमा विस्तार गर्न सकिने धेरै सम्भावनाहरू छन् । पुँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ । छरिएर रहेको पुँजीलाई एकत्रित गरी ‘नेपालको लागि नेपालीकै लगानी’ भन्ने कुराले समेत सार्थकता पाउने थुप्रै आधार र अवसरहरू छन,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, नेप्सेको सिस्टम समेत बलियो बनाउनु पर्ने माग लगानीकर्ता संघठनहरुको माग रहेको छ । ‘पुँजी बजारमा अहिले आएर दैनिक कारोबार रकममा वृद्धि हुँदै आएको छ जसले देशको राजस्व संकलनमा ठूलो योगदान गर्ने निश्चित नै छ । आगामी दिनमा दैनिक रूपमा २० देखि २५ अर्बको कारोबार सामान्य हुने सहजै अनुमान गर्न सकिन्छ ।

यस अवस्थामा नेपाल स्टक एक्सचेन्जको विद्यमान क्षमतामा अभिवृद्धि गर्नु पर्ने देखिएको छ। कारोबारको समयमा सिस्टममा खराबी आई लगानीकर्ताहरूले सेयर कारोबार गर्नबाट वञ्चित भएको गुनासो पटकपटक सुन्नमा आउँछ’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आगामी दिनमा सेयर कारोबारको समयमा सिस्टममा कुनै पनि समस्या नआउने गरी व्यवस्था मिलाउनको लागि नेपाल स्टक एक्सचेन्जको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं । साथै, नेपाल स्टक एक्सचेन्जका व्यवस्थापकीय एवं प्राबिधिक समस्या समाधान गर्न रणनीतिक साझेदार सहितका पूनर्सरचना गर्ने तर्फ नेपाल सरकारले अग्रसरता लिनेछ पनि आग्रह गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal