Skip to content
Prabhu

साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनले भने, ‘पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।’

पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताए। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए। ‘साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ’, उनले भने, ‘बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।’

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal