Skip to content
Prabhu

‘ट्र्याक’ खुलेको २१ वर्षपछि रायडाँडा सडक स्तरोन्नति

nabil

बागलुङ । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो ।

वैशाखदेखि काममा आएको निर्माण व्यवसायीले दुई महिनाको प्रगति तित्याङ खण्डमा छ किलोमिटर सडक चौडा बनाइसकेको छ । साथै बागलुङ बजारको अदालत चौपारीबाट पूर्वाधार निर्माण थालिएको जनाएको छ ।

बागलुङ नगरपालिकाभित्रका अफ्ठ्यारो खण्डका रुपमा रहेको तित्याङ र भकुण्डे पुग्ने सडक २४ महिनाभित्र कालोपत्र गरिसक्ने गरी निर्माण व्यवसायीले ठेक्का सम्झौतापछि कामलाई तीव्रता दिएका नगर कार्यालयले जनाएको छ । बागलुङ बजारको अदालत चौपारीबाट गौँडाकोट, तित्याङ, दह, भुकण्डे हुँदै रायडाँडाको सिमानासम्म पुग्ने सडक स्तरोन्नतिपश्चात् कालोपत्र गरिने निर्माण कम्पनीका सञ्चालक धु्रव बिडारीले बताए।

यसअघि ठेक्का सम्झौता गरेर काम नगर्ने प्रवृत्तिले २१ वर्षसम्म स्तरोन्नति हुन नसकेको उक्त खण्डमा अहिले भने तीव्र गतिमा काम भइरहेको स्थानीय बताउँछन् । बिडारीले १५ किमी सडक कालोपत्र गर्नुपर्ने सम्झौता भएअनुसार छ किमी चौडा पारिएको जनाउँदै बागलुङ बजारबाट ग्याबिन, मेसिनरी पर्खाल र नालीको काम थालिएको बताए ।

‘गत चैत १६ गते दुई वर्षभित्र स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता गरेका थियौँ । वैशाखदेखि काम थलिएकामा अहिलेसम्म सन्तोषजनक भइरहेको छ । सबैको साथ र सहयोग भएमा म्याद सकिनु पहिला नै कालोपत्र सम्पन्न गर्ने योजना छ’, सञ्चालक बिडारीले भने, तित्याङ खण्डमा औजारको काम र बागलुङ बजारबाट गौँडाकोटसम्म ज्यामीको काम भइरहेको छ, बिस्तारै कामदार थप गरी कामलाई तीव्रता दिनेछौँ ।’

विसं २०६० मा स्थानीयले चन्दा सङ्कलन गरेर उक्त सडकको ट्र्याक खोलिएको थियो । करिब २१ वर्षपछि कालोपत्रसहित स्तरोन्नति हुन थालेपछि तित्याङ, भकुण्डे र रायडाँडाका स्थानीयलाई सहज हुने भकुण्डेका चन्द्रप्रकाश शर्माले बताए । उनले सम्झौता भएसँगै निर्माण व्यवसायी कार्यक्षेत्रमा खटिनु सकारात्मक पक्ष भएको भन्दै यथाशीघ्र गुणस्तरीय काम सम्पन्न गर्न स्थानीयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ट्र्याक खोलुको २१ वर्षसम्म अलपत्र बनेको सडकअन्तर्गत अहिले १५ किमी कालोपत्रे र स्तरोन्नति थालिएपछि स्थानीय खुसी भएका छन् । पर्यटकीय गाउँ भकुण्डेसम्म पुग्न उक्त खण्ड प्रयोग हुने गरेको भन्दै शर्माले स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा लिइएको बताए । ‘दुर्गम गाउँमा सडक सञ्जाल विस्तार भई विकास महसुस गरिरहेको अवस्थामा बजार नजिकैको तित्याङ, भकुण्डे, र रायडाँडाका नागरिकले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका थियौं’, शर्माले भने, ‘ढिलै भए पनि सरकारले बजेट व्यवस्थापन ग¥यो, यसमा हाम्रो सकारात्मक सहयोग गरहनेछ ।’

उक्त सडक कालोपत्रे गर्न ३१ करोड ९६ लाख ३५ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । निर्माण व्यवसायीले समयसीमाभित्रै काम सम्पन्न गरेमा दुई वर्षमा तित्याङ हुँदै भकुण्डेसम्म सवारीसाधन गुड्नेछन् । भकुण्डे जिल्लाको पहिलो ग्रामीण पर्यटकीय गाउँका रुपमा परिचित छ । यहाँ जिल्लाकै पहिलो घरबास सञ्चालनमा आए पनि सहज सडक सुविधा नहुँदा पर्यटकलाई असहज हुँदै आएको थियो । उकालो र घुम्ती सडकमा ढलान तथा अन्य भागमा चिनियाँ प्रविधिबाट कालोपत्र गरिने निर्माण व्यवसायीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal