Skip to content
Prabhu

अक्ष ज्योतिले पब्लिक युथ क्याम्पसबाट सुरु गर्‍यो ‘आर्थिक साक्षरता अभियान’, सातै प्रदेशमा कार्यक्रम आयोजना हुने

काठमाडौँ । अक्ष ज्योति प्रालिले काठमाडौंस्थित पब्लिक युथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेको छ । पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले सोमबार पब्लिक युथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए ।

‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ,’ पूर्वमन्त्री महतले भने, ‘कानुनले दिएका कैयौं सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनुपर्ने बताए ।

‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेको थिए,’ महतले भने, ‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।’

सोमबार पब्लिक युथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेको थियो ।

अभियानअन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ३ निबन्धलाई ट्रर्फी, सर्टिफिकेट र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा महतले निबन्ध प्रतियोगितामा प्रथम भएका सुमन समल मगरलाई ट्रर्फी, सर्टिफिकेटसहित ९ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, दोस्रो भएका शिशिर लामिछानेलाई ट्रर्फी, सर्टिफिकेटसहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । तेस्रो भएकी सुरक्षा कडेललाई ट्रर्फी, सर्टिफिकेट सहित ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

अक्ष ज्योतिले आगामी दिनमा देशभरका विभिन्न क्याम्पसमा विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध प्रतियोगिताका साथै वक्तृत्वकला प्रतिस्पर्धा, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिजलाई निरन्तरता दिने जनाएको छ ।

सोमबार आयोजित लेक्चर सिरिजका कार्यक्रमहरू अक्ष ज्योतिको सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सोमबार कार्यक्रमअन्तर्गत पब्लिक युथ क्याम्पसमा २ वटा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचको लागी बैंकहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएको थिए ।

यस्तै, कार्यक्रममा आयोजित ुडिजिटल बैंकिङको वरदान र आशीर्वादस् नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान प्रशिक्षण प्रदान गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal