Skip to content
Prabhu

अमेरिकी अर्थतन्त्र मन्दीतर्फ गएको आशंका, विश्वका ठूलो शेयर बजारमा गिरावट

एजेन्सी । यूरोप र एसियाका शेयर बजारमा गिरावट आएपछि सोमबार अमेरिकाको शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयरबजारमा गिरावट आएपछि अमेरिकी अर्थतन्त्र  मन्दीतर्फ गइरहेको त छैन भन्ने आशंका  गरिएको छ ।
प्रविधि केन्द्रित नास्डाकको सूचकाङ्क गत हप्ता अन्त्यमा भएको तीव्र गिरावटपछि  ६.३ प्रतिशतले घटेर खुलेको थियो । सोमबार अन्य प्रमुख अमेरिकी सूचकाङ्कहरू पनि तीव्र गिरावटपछि केही सुधार आएको छ । जबकि युरोप र एसियाका शेयर बजारमा ठूलो गिरावट देखियो । जसमा जापानको निक्केई २२५ सूचकाङ्क अर्थात करिब १२.४ प्रतिशतले घट्यो ।
शुक्रबार अमेरिकमा प्रस्तुत कमजोर रोजगारीको तथ्यांकपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रबारे चिन्ता उत्पन्न भएको थियो । साथै गत हप्ता अमेरिकाको केन्द्रीय बैंकले ब्याजदरमा कटौती नगर्ने निर्णय गरेको थियो । जबकि अन्य केन्द्रीय बैंकहरू जस्तै बैंक अफ इङ्गल्याण्डले भने ब्याजदर घटाएको थियो ।
पछिल्लो समय प्रविधि सम्बन्धित कम्पनीहरुले जसले ठूलो  लगानी आर्टिफिसियल इन्टेलिजेन्समा लगानी गरिरहेका छन् ती कम्पनीहरुको शेयर मूल्यांकन  अधिक भएकामा पनि अब सुधारको  अपेक्षा गरिएको छ ।
यसैबीच चिप निर्माता कम्पनीले इन्टेलले गत हप्ता ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको थियो । त्यति मात्रै होइन कम्पनीले निराशाजनक वित्तीय नतिजा पनि पनि  देखाएको थियो । इन्टेलको प्रतिद्वन्द्वी कम्पनी एनभिडियाले भने नयाँ उत्पादनमा ढिलाइ गर्ने अनुमान पनि गरिएको छ ।
सोमबार अमेरिकाका ३० ठूला सूचीबद्ध कम्पनीहरू समावेश गर्ने डाउ जोन्स सूचकाङ्क २.२ प्रतिशतले घटेको छ । जबकि प्रविधि केन्द्रित नास्डाक २.८ प्रतिशतले घटेको थियो र एसएन्डपी ५०० सूचकाङ्क २.४ प्रतिशतले घटेको थियो । साथै ठूला प्रविधि कम्पनीहरूको शेयरमा भने केही सुधार देखिएको थियो । यद्यपि एनभिडियाको शेयर मूल्य ५.४ प्रतिशत, अमेजन ३.८ प्रतिशत र एप्पलको शेयर मूल्य ४.५ प्रतिशतले घटेको थियो ।
युरोपमा, पेरिसको सीएसी–४० सूचकाङ्कले पहिलेको घाटा केही कम गर्यो तर अझै पनि १.४ प्रतिशतले घटेको थियो । जबकि फ्रान्कफर्टको डिएएएक्स र बेलायतको एफटीएसई १०० करिब २ प्रतिशतले घटेका थिए ।
अमेरिकी अर्थतन्त्रप्रतिको शंका
अमेरिकामा देखिएको कमजोर रोजगारीका तथ्यांकले अर्थतन्त्र मन्दीतर्फ गइरहेको अड्कल लागेपछि शुक्रवारबाट बजारको गिरावट सुरु भएको हो । जुलाईमा, अमेरिका रोजगारदाताहरुले एक लाख १४ हजार नयाँ रोजगार थपेका थिए । जुन एक लाख ७५ हजारको अपेक्षाभन्दा धेरै कम थियो । जबकि बेरोजगारी दर ४.१ प्रतिशतबाट ४.३ प्रतिशतमा वृद्धि भएको थियो । अमेरिकी अर्थशास्त्री क्लाउडिया साह्मको नाममा राखिएको यो नियम भन्छ कि यदि तीन महिनाको औसत बेरोजगारी दर गत १२ महिनामा सबभन्दा कम स्तर भन्दा आधा प्रतिशत बढी छ भने देश मन्दीको सुरुवातमा छ ।
यी तथ्यांकहरूले अमेरिकामा लामो समयदेखि चलिरहेको रोजगारी बढोत्तरीको गति अन्त्य नजिक आएको आंशंका बढाएको छ । साथै त्यहाँको केन्द्रीय बैंकले कहिले र कति प्रतिशत ब्याजदर कम गर्नेछ भन्ने पनि अड्कल लगाउन सुरु भएको छ ।
पानम्युर लिबेरमका प्रमुख अर्थशास्त्री र अनुसन्धान प्रमुख साइमन फ्रेन्चले रोजगारीमा आएको कमी जुलाईमा अमेरिकी गल्फ कोस्टमा आएको हुरिकेनका कारण हो वा होयन भन्ने स्पष्ट नभएको बताए । हालैको तथ्यांकले भने अमेरिकी अर्थतन्त्रले जुन महिनाको अन्त्यसम्मको तीन महिनामा वार्षिकदरमा २.८ प्रतिशतको दरले वृद्धि गरेको देखाएको छ । जुन अधिकांश विकसित देशहरूको तुलनामा धेरै बलियो हो ।
एम एन्ड जी वेल्थकी प्रमुख लगानी अधिकारी शान्ति केलेमेनले अहिले नै अमेरिकी अर्थतन्त्र मन्दीतर्फ गएको वा नगएको भन्न गाह्रो हुने बताइन्् । “तपाईं पोजिटिभ र नेगेटिभ दुवै बहसका लागि प्रमाणहरु निकाल्न सक्नुहुन्छ, तर अहिले नै अर्थतन्त्र मन्दीतर्फ  गएको भन्नेमा स्पष्ट भन्न सकिँदैन ।”
उनले विश्वका अन्य देशमा शेयर बजारमा आएको गिरावटले एउटा मात्रै विषयतर्फ केन्द्रित गर्छ भन्ने पनि आफूलाई नलागेको बताइन ।
जापानमा निक्केई, ताइवान, दक्षिण कोरिया, भारत, अस्ट्रेलिया, हङकङ र शाङ्घाईका शेयर बजारमा सोमबार १.४ प्रतिशतदेखि ८ प्रतिशतसम्मको गिरावट देखिएको थियो ।
जापानको समस्या आंशिक रूपमा यसको मुद्रा, येनसँग सम्बन्धित छ, जुन बैंक अफ जापानले गत हप्ता ब्याज दर बढाएपछि अमेरिकी डलरसँग बलियो भएको छ । यसले सामान्यरुपमा जापानी समान महंगो बनाएको छ । यसै समयमा, जापानमा जुनमा अपेक्षाभन्दा बढी मुद्रास्फीति बढेको थियो जबकि अर्थतन्त्रले वर्षको पहिलो तीन महिनामा संकुचन देखाएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal