Skip to content
Prabhu

यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण

काठमाडौं । महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान यात्रुको कपालमा जुम्रा भेटिएपछि अचानक फिनिक्समा आकस्मिक अवतरण गरिएको हो ।

यसअघि आयरल्याण्डमा लोग्नेस्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो । अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक अवतरण गराइदिएको छ । सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् ।

त्यसरी जहाज एक्कासि बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो । तर जब विमान अवतरण भयो तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् ।

पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो । एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।

दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए । करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्यतर्फ उडेको थियो ।

टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ । समाचारअनुसार यो घटना गत जुन महिनामा भएको हो । एजेन्सी

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal