Skip to content
Prabhu

सङ्घीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्यः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे।

देशको विषम परिस्थितिलाई आत्मसात् गरीे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘देशमा राणाशासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र सङ्घर्षको सही व्यवस्थापन, गणतन्त्र र सङ्घीयताका लागि यी दुई ठूला दल मिलेरै देशको सङ्कट समाधान भएको छ । आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष सङ्कल्पसहित हाम्रो सहकार्य भएको हो ।’ उनले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गरे।

जनताको दुख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्त भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरूस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन सम्झाए।

‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी बागमती प्रदेशमा रहेका विद्यमान विकृति, विसङ्गति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने, ‘मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुने गरी, सुखदुःखमा साथ दिने गरी, आफ्नो जिम्मेवारी कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal