काठमाडौं । वाणिज्य बैंकहरुको आधारदर ६ प्रतिशतसम्म झरेको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको आधारदर ६ प्रतिशतसम्म कायम गरिएको देखिएको हो ।
वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको आधारधार ६ प्रतिशतदेखि ९ प्रतिशतसम्म रहेको छ । विवरणअनुसार २ वटा बैंकको आधारदर ६ प्रतिशत रहेको हो । त्यस्तै ५ वटा बैंकको आधारदर भने ७ प्रतिशत रहेको छ । ११ बैंकको ८ प्रतिशत र २ वटा बैंकको आधारदर ९ प्रतिशत रहेको छ । गत आवको वित्तीय विवरणअनुसार सबै बैंकको आधारदर एकल विन्दुमा झरेकाले कर्जाको ब्याजदर पनि कम हुनेछ । यो अवस्थामा केही बैंकको कर्जाको ब्याजदर पनि एकल विन्दुमा आउने देखिएको हो ।
वित्तीय विवरणअनुसार सबैभन्दा कम आधारदर भएको बैंक स्ट्याण्डर्ड चार्टर्ड हो । यो बैंकको आधारदर ६.६ प्रतिशत रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधारदर पनि ७ प्रतिशतभन्दा कम हरेको छ । यो बैंकको आधारदर ६.७१ प्रतिशत रहेको छ । त्यस्तै आधारदर ७ प्रतिशत हुने पाँच बैंकमा एभरेष्ट बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।
गत आवको वित्तीय विवरणअनुसार एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत, नबिल बैंकको ७.६३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८२ प्रतिशत, सानिमा बैंकको ७.८३ प्रतिशत र नेपाल बैंकको ७.९७ प्रतिशत छ ।
त्यस्तै, कुमारी बैंकको आधार दर ८.८९ प्रतिशत छ भने लक्ष्मी सनराइज बैंकको ८.५२ प्रतिशत रहेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको ८.४९ प्रतिशत, एनएमबि बैंकको ८.४२ प्रतिशत, एसबिआई बैंकको ८.३ प्रतिशत, सिटिजन्स बैंकको ८.२६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशत, सिद्धार्थ बैंकको ८.११ प्रतिशत, कृषि विकास बैंकको ८.०९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.०९ प्रतिशत र प्रभु बैंकको ८.०२ प्रतिशत रहेको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै आधारदर भएका बैंक एनआइसी एसिया र हिमालयन बैंक हुन् । एनआइसी एसियाको आधारदर ९.१९ प्रतिशत रहेको छ । जुन २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै आधारदर हो । हिमालयन बैंकको आधारदर पनि ९.०८ प्रतिशत रहेको छ ।
बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गर्न पाउँछन् । अहिले लगानीयोग्य रकम धेरै भएको अवस्थामा बैंकहरुले कम प्रिमियम राखेर नै कर्जा दिइरहेका छन् । बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ । जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्