काठमाडौं । सांसदहरुले धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ । बिहीबार अर्थ समितिको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद बर्षमान पुनले सेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि आम मानिसको प्रश्न रहेको बताए । उनले पुँजी बजारमा स्वच्छ कारोबार र आवश्यक व्यवस्थापनका लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिए । समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पनि सेयर बजार मर्यादित र व्यवस्थित हुनु पर्ने बताए । उनले आफूले सेयर बाजलाई मर्यादित बनाउने विषयमा बोलेको भए पनि गलत प्रचार गरिएको उनको गुनासो थियो । धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा.महतको भनाइ छ ।
त्यस्तै सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको सेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताए । बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताएका थिए । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।
बैठकमा बोर्डको अध्यक्षको जिम्मेवारीमा समेत रहेका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको क्षमता वृद्धिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । उनले बजारको हल्लाका पछाडि लागेर सेयर बजारमा लगानी गर्न नहुने पनि धारणा व्यक्त गरे । धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उनले आग्रह गरे । बरालले चालु आवको मौद्रिक नीतिले गरेको सहजीकरणका कारण बजार उकालो लागेको पनि बताए ।






प्रतिक्रिया दिनुहोस्