Skip to content
Prabhu

कालिका लघुवित्तको नाफामा उल्लेख्य सुधार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत मात्र बढेको छ । चौथो त्रैमासिकको अन्त्यसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १७४ प्रतिशत र खुद नाफा १३४ प्रतिशत बढ्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ ।

३७ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal