Skip to content
Prabhu

के इजरायलमाथि इरानले आक्रमण गर्ला ? अड्कलमा अल्झियो मध्यपूर्व 

बीबीसी । बुधबार साउदी अरबको जेद्दा शहरमा इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य देशहरूको आपतकालीन बैठक सम्पन्न भएको छ । ईरानको आग्रहमा आयोजना गरिएको यस बैठकमा थुप्रै मुद्दाहरूको साथै तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको हत्याको विषयमा पनि चर्चा भएको थियो ।
यो बैठक, ईरानका लागि आफ्नो बदला लिनका लागि आइओसी सदस्य देशहरूलाई आफ्नो उद्देश्य बुझाउने एउटा अवसर पनि थियो । गत ३१ जुलाईमा, ईरानको राजधानी तेहरानमा इस्माइल हनियाको हत्या त्यतिबेला भएको थियो जब उनी ईरानका नयाँ राष्ट्रपति मसूह पेझेश्कियानको शपथग्रहण समारोहमा सहभागी हुन आएका थिए ।
यसपछि, ईरानका सर्वोच्च धर्मगुरू अयातोल्लाह अली खमेनईले हनियाको मृत्यको बदला लिने घोषणा गरेका थिए । हमास र ईरान दुवैले ३१ जुलाईमा भएको हनियाको हत्याको पछाडि इजरायलको हात रहेको दाबी गरेका छन् । यद्यपि इजरायलले हालसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन । तर, अनुमान छ कि यस घटनामा इजरायलको संलग्नता छ ।
ईरानको प्रतिक्रियाप्रति किन छ चिन्ता ?
ईरानका कार्यवाहक विदेशमन्त्री बाकेरी अली बागेरी कानीले आफूहरुसँग जवाफ दिनु बाहेक अरू कुनै विकल्प छैन भनेका छन् । उनले ईरान आफ्नो जवाफ सही समय र सही तरिकाले दिने पनि बताए । कानीले ईरानको सम्भावित प्रतिक्रिया केवल ईरानको संप्रभुता र राष्ट्रिय सुरक्षाका लागि मात्र नभई, सम्पूर्ण क्षेत्रको स्थिरता र सुरक्षाका लागि  हुनेछ स्पष्ट पारेका छन् ।
ईरानका नयाँ राष्ट्रपतिको शपथग्रहणमा सहभागी हुनका लागि तेहरान आएका हमास प्रमुख इस्माइल हनिया ईरानको इस्लामिक रिवोल्युसनरी गार्ड्स कोर्प्सको एक अत्यन्त सुरक्षित गेस्टहाउसमा बसेका थिए । यो अति सुरक्षित स्थानमा भएको आक्रमणमा इस्माइल हनियाको मृत्यु भएपछि ईरानलाई पनि लज्जाबोध भएको छ ।
यस घटनापछि, ईरानसँग सम्बन्धित प्रत्येक संकेत, प्रत्येक बयान, प्रत्येक भाषणलाई नजिकबाट हेरिएको छ ताकि यो थाहा पाउन सकियोस् कि ईरान कहिले र कसरी यो आक्रमणको जवाफ दिनेछ । साथै यो चिन्ता पनि छ कि ईरानको प्रतिकारात्मक आक्रमणले सम्पूर्ण क्षेत्रलाई ठूलो संघर्षतर्फ धकेल्न सक्छ ।
यद्यपि, ईरानका विदेशमन्त्रीले अहिलेसम्म यसको कुनै संकेत दिएका छैनन् । पश्चिमी देशहरूको भनाइ छ कि उनीहरूसँग ईरानबारे सीमित गुप्तचर जानकारी छ, यस्तो अवस्थामा ईरान के गर्ने योजना बनाइरहेको छ भन्ने कुरा अस्पष्ट छ ।
यसैको वर्ष अप्रिलमा, सिरियाको राजधानी दमास्कसमा ईरानको एक कूटनीतिक स्थलमा भएको हवाई आक्रमणमा आइआरजीसीका आठ अधिकारी मारिएका थिए । यो आक्रमण पनि इजरायलको भएको अनुमान गरिएको थियो । यो ईरानका लागि अर्को लज्जाजनक धक्का थियो ।
दमास्कसमा भएको आक्रमणपछि ईरानले बदला लिने आफ्नो मनसाय प्रकट गरेको थियो । उसले ३०० भन्दा बढी मिसाइल र ड्रोन इजरायलतर्फ प्रहार गरेको थियो । यद्यपि, यी प्रहारलाई इजरायल र अमेरिकी गठबन्धनले बाटैमा नष्ट गरिदिए र ईरानको यस बदला लिने प्रयासले इजरायलमा खासै प्रभाव पारेन ।
ईरानको प्रतिकारात्मक कारबाहीको बारेमा स्थिति स्पष्ट छैन
गत हप्ता, अमेरिकी अधिकारीहरूले भनेका थिए कि सम्भवतः यसपटक ईरान ठूलो आक्रमणको तयारी गर्दैछ, र यसले विगतका असफलताहरूलाई दोहो¥याउने छैन ।
हालसालै आएको मिडिया रिपोर्टमा यस घटनाको विवरण दिइएको छ कि हनियाको हत्या कुनै सटीक मिसाइल आक्रमणमा नभएर ईरानभित्रको स्थानीय मद्दतका साथ भएको आक्रमणमा भएको हो। हनियाको आक्रमणमा कुनै पनि ईरानी नागरिकको मृत्यु भएको छैन ।
साथै अरब र पश्चिमी देशहरूको कूटनीतिक प्रयासका कारण ईरानलाई यस पूरै घटनामा फेरि विचार गर्न बाध्य पारिएको हुनसक्छ ।
गत हप्ता, जोर्डनका विदेशमन्त्रीले ईरानको भ्रमण गरेका थिए भने बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनले ईरानी राष्ट्रपतिसँग कुराकानी गरेका थिए । फ्रान्सेली दूतावासका अनुसार माक्रोनले ईरानसँग नयाँ सैन्य तनाव रोक्नका लागि सबै प्रयास गर्न आग्रह गरेका थिए ।
यसैबीच, इजरायलमाथि लेबनानको हिज्बुल्लाहको तर्फबाट पनि लगातार आक्रमण भइरहेका छन् । हिज्बुल्लाह लेबनानमा ईरान समर्थित राजनीतिक आन्दोलन र मिलिशिया संगठन हो ।
हिज्बुल्लाहले आफ्ना कमाण्डर फवाद शुक्रको इजरायली आक्रमणमा मृत्युको बदला लिने घोषणा गरेको छ । हनियाको हत्याको केही घण्टाअघि बेरुतमा भएको हवाई आक्रमणमा फवाद शुक्रको मृत्यु भएको थियो । यो आक्रमण बेरुतको दाहिया क्षेत्रमा भएको थियो, जसलाई हिज्बुल्लाहको किल्ला मानिन्छ ।
के हिज्बुल्लाह पनि ठूलो कारबाही गर्न सक्छ?
गत वर्षको ७ अक्टोबरमा इजरायलमाथि हमासको आक्रमणपछि हिज्बुल्लाहले इजरायलको उत्तरमा लेबनानसँग सटिएको सिमानामा आक्रमणहरू सुरु गरेको थियो । त्यसपछि युद्ध लेबनानसम्म फैलिन सक्ने खतरा अहिले उच्च स्तरमा छ ।
अहिलेसम्म, इजरायल र हिज्बुल्लाह बीचको हिंसा लेबनान र इजरायलबीचको उत्तरी सिमाना सम्म सीमित रहेको छ । इजरायल र हिज्बुल्लाह दुवैले अझैसम्म व्यापक युद्धको पक्षमा नरहेको संकेत दिएका छन् ।
अहिलेसम्म, हिज्बुल्लाहले केवल इजरायली सैन्य अड्डाहरूमाथि नै निशाना बनाएको छ, तर उसका आक्रमणहरू अहिले झन् जटिल भएका छन् । उसले इजरायलको भित्री इलाकामा रहेका अड्डाहरूमाथि निशाना बनाउँदैछ ।
हिज्बुल्लाहका नेता हसन नसरल्लाहले कठोर र प्रभावशाली बदला लिने वाचा गर्दै भनेका थिए कि फवाद शुक्र हिज्बुल्लाहको रणनीतिक मस्तिष्क थिए र उनको हत्याको केही घण्टा अगाडि मात्र उनले उहाँसँग कुरा गरेका थिए ।
पहिले, शीर्ष कमाण्डरहरूको मृत्युको पछि हिज्बुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेर प्रतिक्रिया दिने गर्दथ्यो । तर अहिले, बेरुतमा आफ्नै किल्लामा आफ्ना शीर्ष कमाण्डरको हत्यापछि हिज्बुल्लाहले पनि सम्भवतः थप प्रतीकात्मक प्रतिक्रिया दिन सक्छ ।
लेबनानमा धेरै मानिसहरूलाई डर छ कि उनीहरूलाई यस्तो युद्धमा तान्ने प्रयास भइरहेको छ जुन लेबनानको राष्ट्रिय हितमा छैन । लेबनानका मानिसहरूलाई सन् २००५ मा इजरायल र हिज्बुल्लाह बीचको संघर्षको विनाश अहिले पनि सम्झना छ ।
तर, कमजोर हिज्बुल्लाह ईरानको पनि हितमा छैन । आफ्ना हमलावर मिसाइलहरू र ड्रोनहरूका साथ, हिज्बुल्लाह इजरायलविरुद्ध ईरानको प्रतिरोधको महत्वपूर्ण हिस्सा हो, जुन इजरायलको सीमामा बसेको छ ।
इजरायलले ईरानको परमाणु कार्यक्रमलाई आफ्नो अस्तित्वको लागि खतरा मान्छ । यदि कहिले पनि ईरानका परमाणु ठेगानाहरू इजरायलको आक्रमणको निशानामा पर्ने भएमा, त्यसको प्रतिक्रियामा हिज्बुल्लाहको भूमिका महत्वपूर्ण हुन सक्छ । तथाकथित एक्सिस अफ रेजिस्टेन्स, जुन क्षेत्रका ईरान समर्थित गठबन्धन हो र जसमा यमनका हूती विद्रोही र इराकका मिलिशिया पनि समावेश छन्, को मुख्य समूह हिज्बुल्लाह नै हो । यमनका हूती विद्रोहीहरू र इराकका लडाकूहरूले पनि सात अक्टोबरपछि क्षेत्रका पश्चिमी हितहरू र इजरायलमाथि आक्रमण गरेका छन् ।
अहिलेसम्म स्पष्ट छैन कि ईरान र उसका समर्थक समूहहरूले प्रतिक्रिया दिन समन्वय गर्नेछन् । यसै हप्ता, अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कूरिल्लाले इजरायलको भ्रमण गरेका थिए र सुरक्षा तयारीहरूको समीक्षा गरेका थिए । यो अनुमान गरिएको छ कि यस पटक पनि अमेरिकाले नै इजरायलको रक्षा प्रयासहरूको नेतृत्व गर्नेछ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले यदि इजरायलमाथि कहीँबाट पनि कुनै आक्रमण भयो भने यसको ठूलो मूल्य उठाइने बताइसकेका छन् ।
तनावको आशंका र प्रतीक्षाको बीच, इजरायल र लेबनानका बीचमा आवतजावत गर्ने उडानहरू रद्द हुँदैछन् । एयरलाइनहरू यी देशहरूको हवाई क्षेत्रमा नजाने प्रयास गरिरहेका छन् र विश्वभरका देशहरूले आफ्ना नागरिकहरूलाई इजरायल र लेबनान छोड्नका लागि सल्लाह दिइरहेका छन्।
केही मानिसहरूले युद्धको तयारी पनि गर्दैछन् । आगामी समयमा यो क्षेत्र दुर्घटनावश या जानबूझेर, युद्धतर्फ धकेलिन सक्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal