Skip to content
Prabhu

अस्ट्रेलियामा नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने क्रम बढी

अस्ट्रेलिया । अस्ट्रेलियाले शैक्षिक नीतिमा कडाइ गरेसँगै यसको असर अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीमा समेत देखिएको छ । सरकारले हालै जारी गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गत वर्षको तुलनामा अत्यधिक बढेको छ ।

नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने क्रम बढी

अस्ट्रेलियाले कोरोनापछि उच्च शिक्षा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई व्यवस्थित र ब्यावहारिक बनाउने उद्देश्यले नयाँ नियम सार्वजनिक गरिरहेको छ । अस्ट्रेलियाले विद्यार्थीको संख्या कम गर्ने मात्र नभएर विद्यार्थी भिसा आवेदन शुल्कमा वृद्धि गर्ने, दिइरहेको सुविधामा कटौती गर्ने लगायतका बिभिन्न नियम सरकारले केही पहिले नै घोषणा गरिसकेको छ । जसको असर अस्ट्रेलियाली अन्तर्रास्ट्रिय विद्यार्थी संख्याको तेस्रो स्थानमा रहेका नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष परेको छ ।

यहाँस्थित शिक्षा मन्त्रालयको तथ्यांकअनुसार अहिले पनि करिब ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् । तर, यो संख्या वार्षिक रुपमा भने घट्दै जान थालेको छ । शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्ष नेपालबाट समग्रमा करिब २३ हजारले अध्ययनका लागि विद्यार्थी भिसा पाएकोमा यसवर्ष यो संख्या घटेर ११ हजारमा झरेको छ ।

तथ्यांकअनुसार गतवर्ष करिब १७ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा पाएकोमा यो संख्या घटेर यसवर्ष ८ हजारमा झरेको छ भने प्राविधिक शिक्षा (भेट) अध्ययनका लागि आउने विद्यार्थी संख्या गत वर्ष १ हजार ५६ रहेकोमा यसवर्ष जम्मा २६ जनालाई मात्र भिसा दिइएको छ । अस्ट्रेलियाले अध्ययनका लागि आउने बिदेशी विद्यार्थीलाई प्राविधि शिक्षाभन्दा पनि यहाँको जनशक्तिलाई आवश्यक उच्चशिक्षा अध्ययनका लागि प्रोत्साहित गर्ने गरेको छ ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीका श्रीमती वा श्रीमानलाई दिने भिसामा भने खासै कमी आएको छैन । तथ्यांकअनुसार गतवर्ष ४ हजार ५ सयले यस्तो भिसा पाएकोमा यसवर्ष ३ हजार २ सय ३० ले यो भिसा पाएका छन् ।

भिसा अस्वीकृत हुने क्रम बढेपछि नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि दिने आवेदनमा समेत ब्यापक कमी आएको देखिएको छ । गतवर्ष करिब २५ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा आवेदन दिएकोमा यो संख्या घटेर १५ हजारमा झरेको छ । गतवर्ष प्राविधिक शिक्षा अध्ययनका लागि करिब ४ हजार नेपाली विद्यार्थीले आवेदन दिएकोमा यो संख्या यसवर्ष जम्मा २ सय ५४ मात्र रहेको छ ।

अस्ट्रेलियाको अध्यागमन नियममा कडाई भएसँगै नेपाली विद्यार्थीको संख्यामा प्रत्यक्ष असर देखिएको रुपक बर्तौलाले बताए । पछिल्लो समयमा अस्ट्रेलियामा नेपाली विद्यार्थीको भिसा आवेदन अस्वीकृत हुने दर बढ्न थालेपछि नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने क्रममा कमी आएको सुनाउँछन् ।

उनी सरकारले परिवर्तन गरिरहेको नियम यहाँको परिवेश र परिस्थितिसँग अनुकूल रहेको भएपनि यसको प्रत्यक्ष असर भने अध्ययनका लागि अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थी लगायतका अन्तरास्ट्रिय विद्यार्थीलाई परेको उनको भनाइ छ ।

अस्ट्रेलियामा विद्यार्थी भिसा आवेदनका लागि करिब २–३ लाखसम्म लगानी लाग्ने र भिसा आवेदन अस्वीकृत भएपछि लगानी गुम्ने कारणले समेत आवेदन दरमा कमी आएको यस क्षेत्रका ब्यवसायीको भनाइ छ । अहिले अस्ट्रेलियामा अध्ययनका लागि भिसा आवेदन शुल्कमात्र १ हजार ६ सय डलर (करिब १ लाख ४५ हजार रुपैयाँ) तोकिएको छ ।

जुन केही साताअघिमात्र ७ सय १० डलरबाट बढाइएको हो । अस्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि आउने विद्यार्थीले एक सेमेस्टर (६ महिनाको) कम्तीमा १४ लाखदेखि १८ लाखसम्म शुल्क तिर्नुपर्छ । झन् पछिल्लो समयमा देखिएको रोजगारीको समस्याका कारण सहजै बस्ने र जागिरको ब्यवस्था नहुनाले धेरै नेपाली विद्यार्थी समस्या परेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal