Skip to content
Prabhu

‘काउन्सिलको स्वनियमनका लागि पनि आचारसंहिता आवश्यक’

काठमाडौ । सांसदहरुले प्रेस काउन्सिल नेपालका अध्यक्ष र सदस्यका लागि पनि आचारसंहिताको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथिको दफावार छलफलमा सांसदहरुले काउन्सिलले पत्रकार र आमसञ्चारमाध्यमका लागि आचारसंहिता बनाए जस्तै विधेयकमै अध्यक्ष र सञ्चालक समिति सदस्यका लागि पनि आचारसंहिताको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

विधेयकमाथि संशोधन प्रस्तुत गर्दै डा.बेदुराम भुसालले काउन्सिलको स्वनियमनका लागि आचारसंहिता बनाउनु पर्ने बताए । ‘काउन्सिलको स्वनियमनका लागि पनि आचारसंहिता बनाउनुपर्ने हुन्छ, पहिला काउन्सिल आफैँका लागि आचारसंहिता चाहिन्छ अनि मात्रै उसले अरु मिडियाका लागि आचारसंहिता लागू गर्नसक्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

समिति सदस्य घनश्याम रिजालले विधेयकमा काउन्सिल अध्यक्ष वा सदस्यलाई कार्यक्षमताको अभावका कारण हटाउनुपर्ने भन्ने व्यवस्थालाई स्पष्ट हुनेगरी संशोधन गर्नुपर्ने माग गरे । तुलसा दाहालले पदाधिकारीको पदावधि कहिलेदेखि सुरु हुन्छ भन्ने विषयलाई प्रष्टसँग लेख्नु पर्ने बताए । त्यस अवसरमा प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरुप अगाडि बढाउन सुझाव दिँदै आएको छ ।

विधेयकमा अध्यक्ष पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा अध्यक्ष नियुक्ति नभएसम्मका लागि कार्यवाहक अध्यक्षका रूपमा सदस्य (मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत)ले बैठक बोलाउन र सो बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal