Skip to content
Prabhu

स्वास्थ्य बीमाका बीमित : ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

काठमाडौं । मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए ।

‘स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ,’ उनले भने । अहिले उपचारमा लाग्ने खर्चको जम्मा १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनले बताए । माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बरालले पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताए । ‘ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ,’ उनले भने । पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उनले जानकारी दिए । ‘हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ,’ उनले भने ।

यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताए । अस्पतालको टिकट काउन्टर अगाडि भेटिएका उनी पेटमा समस्या भएर अस्पताल आएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ,’ उनले भने । थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उनले खुसी व्यक्त गरे । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उनले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताए ।

चितवनको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए । आव २०७९÷८० मा अस्पतालमा बीमामार्फत २ लाख ५० हजार ६१७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए । एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष ५२ करोड ५३ लाख ३७ हजार ५१२ रुपैयाँ भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताए । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले बताए । ‘बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ,’ उनले भने । स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal