Skip to content
Prabhu

हिमालय एयरलाइन्सले पुनः काठमाडौं–कुवेत–काठमाडा उडान गर्ने

काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स, हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०, २०२४) देखि कुवेतमा पुनः उडान गर्ने भएको छ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सले सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।

काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले जनाएको छ । कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको हिमालय एयरले जनाएको छ ।

सुरुवातमा, काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको एयरलाइन्सले जनाएको छ । काठमाडौं–कुवेत उडान, काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी कुवेत–काठमाडौं उडान कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्नेछ । हिमालय एअरलाइन्स नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौं–कुवेत मार्गमा उडान पुनःस्थापना लक्ष्यको प्रमाण भएको एयरलाइन्सले जनाएको छ ।

हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्टबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित वायुसेवा कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू–संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal