Skip to content
Prabhu

रिलायबल नेपाल लाइफको नाफा २७ प्रतिशतले बढ्यो, जीवन बीमा कोष १० अर्ब बढी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा २७ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार २७.५७ प्रतिशतले नाफा बढाएको हो ।

सार्वजनिक विवरण अनुसार कम्पनीले गत आवमा ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ४२ लाख १५ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकारमा पनि उल्लेख्य सुधार भएको छ । यस्तो आकार ३५.७९ प्रतिशतले बढेर १० अर्ब ५ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ७ अर्ब ४० करोड २८ लाख रुपैयाँ थियो । कम्पनीले गत वर्ष ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १०.८८ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो वर्ष कम्पनीले ५० करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको कुल खर्च १६.६९ प्रतिशतले बढेको छ ।

गत वर्ष कम्पनीको दाबी भुक्तानी २.४१ प्रतिशतले बढेको छ भने लगानी ५५.४८ प्रतिशतले बढेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal