Skip to content
Prabhu

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ती सेवा सम्पन्न

काठमाडौं । पोर्चुगलको लिस्वनमा राहदानी नविकरण घुम्ती सेवा सम्पन्न भएको छ । राहदानी विभाग र पेरिसमा रहेको नेपाली दुतावासले अगष्ट २ देखि १३ तारीखसम्म सञ्चालन गरेको घुम्ति शिविर सम्पन्न भएको हो ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौ र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा सञ्चालित उक्त शिविरबाट ३ हजार ८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा दिएका छन् ।

जसमा १२१ जना नावालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० यूरो अर्थात ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ वरावरको राजश्व संकलन भएको छ ।

घुम्ति सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी हुनु भएको थियो । घुम्ति सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए ।

‘राहदानी शिविरमा आएर सेवा लिने सम्पूर्ण सेवाग्राही नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, राहदानी शिविर व्यवस्थापनमा सहयोग पुर्याउनुहुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु तथा स्वयंसेवकहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्था एवं सामाजिक अगुवाहरूमा राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ,’ नेपाली दुतावास परिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पोर्चुगलमा हाल ५० हजार भन्दा वढी नेपालीहरु बसोबास गरिरहेका छन् । तत्काल समस्याको रुपमा देखिएको कागजात प्रमाणिकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास पेरिस गम्भिर रहेको पनि विज्ञप्तिमा भनिएको छ । यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको पनि बताइएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal