Skip to content
Prabhu

आम्दानी बढ्दा पनि बढ्न सकेन सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी बढ्दा पनि नाफा भने घटेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो ।
आम्दानी बढेपनि बिक्री लागत बढेपछि कम्पनीको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशत घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेका छ भने अन्य आम्दानी २९८.९७ प्रतिशत बढेको छ । सो अवधिसम्ममा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ ।
४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal