Skip to content
Prabhu

सेयर बजारमा करिब ३० अर्बको कारोबार, परिसूचक तीन हजार विन्दुमा

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक ३००० विन्दुमा पुगेको छ । दिउसो कारोबार समयमा नेप्से परिसूचक ३०३६ विन्दुसम्म पनि पुगेको थियो । त्यहाँबाट केही करेक्सन भएर कारोबार बन्द हुँदा ३००० दशमलव ८१ विन्दुमा आएर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४३ दशमलव ०५ अंकले बढेर ३००० दशमलव ८१ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.४५ प्रतिशतले बढी हो । अघिल्लो दिन पनि उच्च अंकले बढेको नेप्से आज पनि उच्च अंकले नै बढेको हो । आज सेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३७ कम्पनीको सेयर मूल्य घट्यो । आज एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेसँग आज कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । आज सेयर बजारमा २९ अर्ब भन्दा बढीको कारोबार भएको छ । यो सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार हो । आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ पटक खरिद बिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ बराबरको कारोबार भएको छ । साउनको २८ गते सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड बढीको कारोबार भएको थियो । सोमबारको कारोबार रकम आज तोडिएको हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १६ दशमलव ०१ अंकले बढेर ५३५ दशमलव ५१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्य घटेको छ भने बाँकी ८ उपसूचकको सेयर मूल्यमा वृद्धि भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal