Skip to content
Prabhu

युक्रेन र रुस दुवैद्वारा कुर्स्क क्षेत्रमा प्रगति गरेको दाबी

एजेन्सी । युक्रेनले बिहीबार रुसमा आफ्नो सीमापार आक्रमणमा नयाँ प्रगति गरेको दाबी गरेको छ । उसले एक हजार वर्गकिलोमिटरभन्दा धेरै क्षेत्र कब्जा गरेको बताएको छ । यो दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै विदेशी सेनाले गरेको सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले उसले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाबाट पहिलो गाउँ पुनः कब्जा गरेको बताएको छ । साथै उसले छिमेकी बेलगोरोड क्षेत्रमा ‘अतिरिक्त सेना’ पठाउने घोषणा गरेको छ ।
युक्रेनले अब दर्जनौँ बस्ती र सीमाबाट आठ किलोमिटर टाढाको सुद्जा सहरलाई नियन्त्रण गरेको बताएको छ । शीर्ष सैन्य कमान्डर अलेक्जेन्डर सिर्स्कीले भने,  “हामीले एक हजार एक सय ५० वर्गकिलोमिटर क्षेत्र र ८२ बस्ती नियन्त्रणमा लिएका छौँ ।”
दुई वर्षभन्दा धेरै समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी सेनाका लागि धेरै महिनाको असफलतालाई तोड्दै सिर्स्कीका सैनिकहरूले अगस्ट ६ मा आक्रमण सुरु गरेका थिए ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई उहाँले आफ्नो सेनाले ‘कानून र व्यवस्था कायम गर्न तथा नियन्त्रित क्षेत्रहरूमा जनसङ्ख्याको प्राथमिक आवश्यकताहरू पूरा गर्न’ प्रशासनिक कार्यालय स्थापना गरेको जानकारी गराए ।
जेलेन्स्कीले ‘रुसी सेनाबाट सुद्जा सहरको मुक्ति पूरा भएको’ घोषणा गरेका छन् ।
एक लाख २० हजार रुसी विस्थापित
कुर्स्कमा सीमावर्ती क्षेत्रबाट करिब पाँच सय विस्थापितलाई रुसी रेडक्रसले खाना र कपडा वितरण गरिरहेको एएफपीका संवाददाताहरूले देखेको बताएका छन् ।
रुसले एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ ।
पूर्ण विनाश
युक्रेनी आक्रमणले रुसी सैनिकहरूलाई आश्चर्यचकित बनाएको छ र हजारौँको सङ्ख्यामा त्यहाँबाट मानिसहरूलाई हटाउनुपरेको छ ।
रुसी अधिकारीहरूका अनुसार लडाइँमा कम्तीमा १२ सर्वसाधारणको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् ।
मस्कोले सुदृढीकरणमा तीव्रता ल्यायो र बिहीबार कुर्स्क क्षेत्रको पहिलो गाउँलाई पुनः कब्जा गरेको घोषणा गर्यो । “सेनाले दुश्मको विनाश पूरा गरेको छ र क्रुपेट्सको बस्तीमा नियन्त्रण पुनःस्थापित गरेको छ”, मन्त्रालयले भनेको छ ।
रुसी सेनाले छिमेकी क्षेत्रहरू विशेषगरी बेलगोरोडमा आक्रमणलाई रोक्ने उपायको पनि घोषणा गरेको छ । बेलगोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभसहितको अधिकारीहरूको बैठकमा मन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले बेलगोरोड क्षेत्रलाई युक्रेनी आक्रमणबाट बचाउन ‘ठोस कारवाही’ को तयारी गरेको जानकारी दिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal