Skip to content
Prabhu

हुम्लाको सिमकोट आजदेखि एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा सुरु

काठमाडौं । हुम्लाको सिमकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटीटीएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका थिए। योसँगै नेपालका ७७ वटा जिल्लामा एफटीटीएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटीटीएच सेवा सञ्चालन हुन बाँकी थियो ।

त्यस अवसरमा मन्त्री गुरुङले एफटीटीएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए । उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराए ।

‘मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटीटीएच पुर्याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटिटिएचको पहुँच पुगेको छ’, मन्त्री गुरुङले भने ।

मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताए । उनले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सुझावसमेत दिएका थिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्ला जस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुस्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिएका थिए। एफटिटिएच पहुँच पुगेसँगै हुम्लावासीले खुसी व्यक्त गरेको समेत उनीहरुले वेभ कन्फ्रेन्समा बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal