अर्घाखाँची । जिल्लामा खेतीयोग्य जमिनमध्ये ८ हजार ४ सय ४४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । कूल ४५ हजार सात सय १२ खेतीयोग्य जमिनमध्ये २८ हजार छ सय नौ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ ।
खेतीयोग्य जमिनमध्ये तीन हजार ८१ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र पाँच हजार तीन सय ६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर भेषराज भुसालले बताए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा कार्यक्रममा गत आवमा प्राप्त भएको बजेट रु. २१ करोड ४७ लाख ५४ हजारमध्ये १८ करोड ९१ लाख ५१ हजार अर्थात ८८ दशमलव ०८ प्रतिशत खर्च अर्थात् र ९९ दशमलव ४८ प्रतिशत भौतिक प्रगति भएको डिभिजन कार्यालयका लेखापाल शिवहरि खनालले बताए।
एक सय तीन योजनामध्ये एक वर्षमा ९४ वटा योजना सम्पन्न भएका छन् । चार वटा योजना क्रमागत बहुवर्षीय र ५ वटा योजना कार्यान्वयनमा जान सकेका छैनन् । सञ्चित कोषमा रकमको कमी हुँदा काम सम्पन्न भएका नौ वटा योजनाको १ लाख ४७ हजार १७ हजार रुपैयाँ भुक्तानी हुन नसकेको इञ्जिनियर भुसालले बताए ।
आव २०८०/८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका ८ वटा बाँध निर्माण, १९ दशमलव ६२ किमी पक्की कुलो, तीनवटा पोखरी, १५ हेक्टरमा थप सिँचाइ सुविधा र एक सय ७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ । दुई दशमलव ३८ किमी तटबन्ध, एक दशमलव पाँच हेक्टर जमिन उकास, ४८ घर सुरक्षित र एक सय ६५ हेक्टर जमिन सुरक्षित भएको डिभिजन प्रमुख भुसालले जानकारी दिए।
सिँचाइ विना खेती हुन नसक्ने भएकाले सिँचाइ योजना निर्माणमा सबै सरकार लाग्नुपर्ने जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताए । उनले सिँचाइ कुलो निर्माण भएपछि युवा आर्थिक स्वरोजगार भएको बताए । सबैभन्दा उत्तम पेसाका रुपमा रहेको कृषि पेसालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
कृषिजन्य वस्तुको उत्पादनविना आर्थिक समृद्धि नहुने भएकाले उत्पादनका लागि सिँचाइ पहिलो आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले गाउँमा खेतीपाती गर्ने कृषकलाई सम्मान गर्नुपर्ने बताउँदै कृषि पेसालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गरेको काम प्रशंसायोग्य रहेको शितगङ्गा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको भनाइ छ । नगरपालिकाले समन्वय गरेर काम अगाडि बढाएको बताउँदै कुलो बनेपछि बाँझो रहेको जमिनमा खेती हुन सुरु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्