Skip to content
Prabhu

साताको सेयरः साढे ८ प्रतिशत बढ्यो नेप्से, औसत कारोबार रकममा पनि सुधार

काठमाडौं । साउन महिनाको अन्तिम साता नेप्से परिसूचक साढे ८ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७६६ दशमलव ३८ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ८.४७ प्रतिशतले बढेर बन्द भएको हो । यो साता सेयर बजारमा परिसूचक २३४ दशमलव ४३ अंक बढेर ३००० दशमलव ८१ विन्दुमा पुगेको छ ।

यो साताको पाँच कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन सामान्य करेक्सन देखिएको थियो । यो साता मंगलबार नेप्से परिसूचक सामान्य अंक करेक्सन भएर बन्द भएको थियो भने बाँकी दिन उच्च अंकले बढेको थियो ।

नेप्से परिसूचक सँगै यो साता सेन्सेटिभ इण्डेक्स १०.७२ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ९.८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.४८ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यो साता दैनिक औसत कारोबार रकम पनि बढेको छ । गत साताको तुलनामा यो साताको दैनिक औसत कारोबार रकम २२.४१ प्रतिशत बढेको छ । गत साता दैनिक औषतमा २० अर्ब ९० करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा २५ अर्ब ५९ करोडको सेयर कारोबार भएको छ । यो साता नेप्सेको भोल्यूमले अलटाइम हाइ रेकर्ड पनि बनाएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा करिब ३० अर्बको कारोबार भएको थियो । त्यो दिन सेयर बजारमा २९ अर्ब ९५ करोडको सेयर कारोबार भएको थियो । जुन हालसम्मकै उच्च कारोबार रकम हो ।

त्यस्तै, यो साता दैनिक औसत सेयर संख्या २३.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.३१ प्रतिशत बढेको छ । यो साता नेप्सेको कुल बजार पुँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ । यो साता नेप्सेको कुल बजार पुँजीकरण ३ खर्ब ७४ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च पुँजीकरण हो ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १५.०१ प्रतिशत बढेको छ । गत साता ३३४६ दशमलव ३९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता ५०२ दशमलव ३२ अंक बढेर ३८४८ दशमलव ७१ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३७६ दशमलव २९ अंक बढेको छ ।

यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९७ प्रतिशत घटेको छ । गत साता ८१८५ दशमलव ९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६१ दशमलव ३८ अंक घटेर ८०२४ दशमलव ५७ विन्दुमा झरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal