Skip to content
Prabhu

कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब, १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

काठमाडौं । नेपालको कुल विदेशी विनिमयको सञ्चिति २० खर्ब ४१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकअनुसार नेपालको कुल विदेशी विनियमको सञ्चिति २०४१ अर्ब १० करोड पुगेको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा रु.११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु. १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई रु.१८४८ अर्ब ५५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal