Skip to content
Prabhu

१ वर्षमा १७ किलोमिटर सडक कालोपत्रे

nabil

दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले १ वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्रे गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्रे गरिएको जनाएको छ ।

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्रे भएको थियो । गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए । उनका अनुसार ४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ ।

गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो ।

कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिए । तीमध्ये १० सडक र चारवटा पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताए । सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए ।

सो अवधिमा सडकतर्फ १ अर्ब २५ करोड २९ लाख ८८ हजार रुपैयाँ बजेट रहेकामा १ अर्ब ७ करोड ५ लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ २१ करोड ४२ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा १९ करोड ५७ लाख चार हजार रुपैयाँ बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सहरी विकास तथा भवनतर्फ ४० लाख तीन हजार रुपैयाँ बजेट रहेकामा ३० लाख तीन हजार रुपैयाँ, पुँजीगत अनुसन्धान तथा परामर्शमा एक करोड १५ लाख ६० हजार रुपैयाँ बजेट रहेकामा ६० लाख १२ हजार रुपैयाँ, जनता आवास कार्यक्रममा १० लाख रुपैयाँ बजेट रहेकामा ६६ हजार रुपैयाँ मात्रै बजेट खर्च भएको छ ।

विभिन्न सडक स्तरोन्नति

पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा ३२ लाख छ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा दुई करोड ७५ लाख ४६ हजार रुपैयाँ, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा १ करोड २ लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि ५३ लाख ७६ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा १ करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा २ करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा ८० लाख ६९ हजार रुपैयाँ खर्च भएको छ ।

भीमगोफा कृषि सडकमा ७१ लाख छ हजार रुपैयाँ, सालिग्राम कोरिडोर लोकमार्गमा ९ करोड एक लाख ७६ हजार रुपैयाँ, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा ६५ लाख ८४ हजार रुपैयाँ, बुल्दीखोला पुल शेरा रामथुक्कीमा ६६ लाख २९ हजार रुपैयाँ, ब्याङ्दीखोला कल्भर्ट योजनामा ३२ लाख ४१ हजार रुपैयाँ, खहरेखोला सडक पुलका लागि दुई करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि २५ लाख ८२ हजार रुपैयाँ बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal