Skip to content
Prabhu

साउन महिनामा सेयर बजारबाट ४ अर्ब बढी राजस्व योगदान

काठमाडौं । पछिल्लो समय सेयर बजार बढ्दा त्यसको फाइदा आम लगानीकर्तासँगै सरकारलाई पनि भएको छ । सेयर बजारमा आएको उछालले राज्यलाई जाने पुँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पुजीगत लाभकर ९५७.१० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो एक महिनाको अन्तरमा सेयर बजारमा पनि उल्लेख्य वृद्धि भएको र त्यसको फाइदा आम लगानीकर्तासँगै सरकारलाई पनि भइरहेको हो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा राज्यकोषमा पुँजीगत लाभकर बापतको ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ जम्मा भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा ९५७.१० प्रतिशतले धेरै हो ।

गत आवको साउन महिनामा राज्यलाई पुँजीगत लाभकरबापत ४० करोड ८ लाख ९१ हजार रुपैयाँ राजश्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा गत आवको पहिलो महिनाको तुलनामा सरकारलाई जाने पुँजीगत लाभकर १०.३६ गुणाले बढी हो ।

सेयर बजारमा पछिल्लो एक महिनामा अंक र कारोबार दुवै उच्च देखिएको छ । एक महिनाको अवधिमा सेयर बजार परिसूचक ७६० अंकले बढेको छ भने कारोबार रकमले पनि नयाँ रेकर्ड करिब ३० अर्बका कारोबार भएको छ । साउन महिनामा दुई दिन मात्रै ८ र ९ अर्बको कारोबार भएको थियो । अन्य सबै दिन जसो सेयर बजारमा १२ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा साउनको अन्तिम कारोबार दिन परिसूचक ३००० विन्दुमा पुगेको थियो भने त्यो दिन कारोबर रकम पनि २९ अर्ब ९५ करोड बढीको कारोबार भएको थियो । यो कारोबार रकम अहिलेसम्मकै उच्च हो ।

गत आर्थिक वर्षमा सेयर बजारबाट राज्यलाई पुँजीगत लाभकर बापत ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ राजश्व प्राप्त भएको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा नै अघिल्लो आर्थिक वर्षको हाराहारीमा पुँजीगत लाभकर संकलन भएको छ । गत आवको भन्दा साउन महिनामा मात्रै १ अर्ब २७ करोड कम पुँजीगत लाभकर संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सेयर बजारबाट राज्यले २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ पुँजीगत लाभकर बापतको राजश्व संकलन भएको थियो । सेयर बजारले विश्वास गरेका व्यक्ति विष्णु पौडेल अर्थमन्त्रीका रुपमा आएसँगै बजार लगातार रुपमा बढेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति पनि लचिलो भएकाले सेयर बजारमा उत्साह देखिएको छ ।

नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन २०५८ साल साउन १ गतेदेखि सुरु भएको हो । आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरिद गर्ने खरिदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो लगानी बिक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो ।

सेयर बजारबाट १ वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal