Skip to content
Prabhu

गण्डकीमा ९८ प्रतिशत रोपाइँ सकियो

काठमाडौं । गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७.७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार ९२२ हेक्टरमा रोपाइँ भइसकेको हो ।

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४.३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उनको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताए ।

गतवर्ष ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal