Skip to content
Prabhu

चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनमा मात्रै घरजग्गा कारोबारबाट ३ अर्बभन्दा बढीको राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो महिना घरजग्गाको कारोबार १३.५१ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा देशभरबाट ४४ हजार ५ सय ६९ वटा जग्गा खरिदबिक्री भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३९ हजार २ सय ६३ वटा मात्रै घरजग्गाको कारोबार भएको थियो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको लचिलो नीतिका कारण घरजग्गा कारोबारमा सुधार देखिएको हो। राष्ट्र बैंकले गत जेठ ४ गते आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनमा लचिलो नीति लिँदै घरजग्गाको ऋण भुक्तानी आम्दानी अनुपातको ५० प्रतिशत सीमालाई बढाएर ७० प्रतिशत पुर्याएको थियो ।

चालु आवको पहिलो महिना साउनमा संकलन भएको ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुरबापत संकलित भएको देखिएको छ ।

त्यस्तै, पुँजीगत लाभकरबाट १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार रुपैयाँ प्राप्त भएको छ भने सेवा करबापत २६ करोड ६८ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै ३६ करोड ७८ लाख २८ हजार रुपैयाँ राजस्व छुट दिइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको साउनमा संकलित राजस्वमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट संकलन भएको छ । साउन महिनामा लगनखेल मालपोत कार्यालय ललितपुरबाट ३४ करोड २७ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयबाट यो अवधिमा २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । भक्तपुर मालपोतबाट २३ करोड ३७ लाख २२ हजार, चाबहिल मालपोतबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकी मालपोतबाट २२ करोड २७ लाख ८ हजार, मनमैजु मालपोतबाट ९ करोड ५३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकापछि सिमरा मालपोत बाराबाट १७ करोड ३२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने कास्की मालपोतबाट १४ करोड ६९ लाख ८६ हजार, चितवन मालपोतबाट ११ करोड ७२ लाख ६४ हजार राजस्व संकलन भएको छ । यस्तै, सबैभन्दा धेरै लिखत पारित भएको इनरुवाबाट ९ करोड २१ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउनमा देशभरका मालपोत कार्यालयबाट १ हजार ९०४ वटा लिखत पारित भएका छन् । जसमा सबैभन्दा बढी सुनसरीको इनरुवा मालपोत कार्यालयबाट १ हजार ९०४ वटा लिखत पारित भएका छन् ।

यस्तै, मालपोत कार्यालय राजविराजबाट १ हजार ६०८, बेलबारी मालपोत मोरङबाट १ हजार ५२०, भद्रपुर मालपोत झापाबाट १ हजार ४६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २१५ वटा लिखत पारित भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal