Skip to content
Prabhu

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि राजधानीमा ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै

काठमाडौं । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहेको छ ।

युनिभर्सल कलेज र फोनेक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिए ।

विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रबर्द्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरु हुने कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उनले बताए ।

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरबाट पनि विद्यार्थीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो । यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहेको छ।

कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।

कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताए । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।कार्यक्रममा केवाइसी–२०२४ युथ आइकनबाट सुशान्त खत्रीलाई सम्मान गरिने भएको छ ।

यस्तै कार्यक्रममा अभिनेता राजेश हमाल, टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, कथाकार साइग्रेस पोखरेल, डिजिटल सामग्री निर्माता पराक्रम राणा, र्यापर समीर घिसिङ, डान्सर, अभिनेता र कोरियोग्राफर सुशान्त खत्री, गायिका र गीतकार प्रजिना लामिछाने, मोडल तथा युट्युबर रियाशा दाहाल, हास्य कलाकार सुमन कोइराला, गायक र गीतकार स्वप्निल शर्मालगायतको प्रस्तुति रहने छ।
वि.स. २०७६ सालदेखि सुरु गरिएको कार्यक्रमको यो पाँचौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal