Skip to content
Prabhu

स्याङ्जाका ११०  लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पायो १ करोड बढी अनुदान

स्याङ्जा । स्याङ्जाका १ सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत १ करोड रुपैयाँ बढी अनुदान पाएका छन् ।

गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रुपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत् महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जाका १ सय १० आयोजनाले अनुदानबापत १ करोड पाँच लाख एक हजार दुई सय १४ रुपैयाँ पाएको उनले बताए ।

लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदानग्राही छनोट गरी अनुदान दिइएको हो । स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिकरुपमा २५ हजार रुपैयाँसम्मको विद्युत् खपत गर्ने अनुदानग्राहीलाई कुल विद्युत् महसुलको शत्प्रतिशत अनुदान दिइएको हो ।

मासिक २५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मको महसुलमा ७५ प्रतिशत उपलब्ध गराइएको हो। तीन तह वा सोभन्दा बढी तहको लिफ्टिङ खानेपानी योजनाका हकमा ९० प्रतिशत अनुदान दिइएको छ । मासिक रुपमा ४० हजारदेखि ६० हजार रुपैयाँसम्मको विद्युत् खपत गर्ने अनुदानग्राहीले कूल विद्युत् महसुलको ५० प्रतिशत र तीन तहभन्दा बढीको लिफ्टिङ खानेपानी योजनाको हकमा ६५ प्रतिशत अनुदान दिइएको छ ।

मासिक रुपमा ६० हजारदेखि ८० हजार रुपैयाँसम्म विद्युत् खपत गर्ने अनुदानग्राहीले कूल विद्युत् महसुलको २५ प्रतिशत र तीन तहभन्दा बढी तह भएका योजनाले ४० प्रतिशत अनुदान प्राप्त गरेको कार्यालयका लेखापाल प्रेमप्रसाद रेग्मीले बताए । मासिक रुपमा ८० हजार रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत तथा तीन तहभन्दा माथिका योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

स्याङ्जामा सञ्चालनमा रहेका एक सय २० लिफ्ट खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएका लेखापाल रेग्मीले बताउनुभयो । आवेदन दिएकामध्ये सबैको आवश्यक कागजात अपुग भएका र रित नपुगेकाले कूल एक सय १० योजनाले मात्रै विद्युत् महसुलमा अनुदान पाएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal