Skip to content

थाइल्याण्डमा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

nabil bank

बैंकक । थाइल्याडको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।

विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् । दुई पाइलट तथा ७ जना यात्रुसहित ९ जना सवार जहाज बैंककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको छ ।

दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए । दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३ सयभन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेका छन् ।

खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर, चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime