Skip to content
Prabhu

चालु आवको पहिलो महिनामा कामको खोजीमा करिब ६० हजार नेपाली विदेशिए, युरोप जाने बढे, मलेसिया जाने घटे

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चाल आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । साउनमा २५ हजार ५०० संस्थागत रूपमा र १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ । त्यस्तै साउन महिनामा जीटूजी मार्फत ६६८ जना गएका छन् ।

साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा युरोप जाने नेपालीको संख्या बढेको छ भने मलेसिया जानेको संख्या घटेको छ । लामो समयदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा रहँदै आएको मेलेसिया जाने नेपालीको संख्यामा पछिल्लो समय कमी आइरहेको देखिएको हो । साउन महिनामा रोजगारीका लागि नेपालबाट १ हजार ३४४ जना नेपाली मलेसिया पुगेका छन् । यो कोभिड–१९ पछि अहिलेसम्मै सबैभन्दा कम हो । अघिल्लो आर्थिक वर्षको साउनमामात्र ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए ।

विभागको तथ्यांक अनुसार साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । विभागका ससाउन महिनामा युरोपको रोमनीयमा सबैभन्दा धेरै नेपाली गएका छन् । साउनमा रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । यो अवधिमा क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७००, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

विभागको तथ्यांक अनुसार साउन महिनामा नेपालबाट सबैभन्दा धेरै यूएई गएका छन् । साउन महिनामा नेपालबाट १७ हजार ५४१ जना नेपाली रोजगारीका लागि यूएई गएका छन् । त्यस्तै यो अवधिमा साउदी अरेबियामा ११ हजार ८०९ जना गएका छन् भने कतार ११ हजार ७८५ गएका छन् । त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने दुवै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal