Skip to content
Prabhu

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।    केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् ।

स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिए । असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले पाँच सय बिघा क्षेत्रफलको केरा मासिनेगरी करोडौँको क्षति पु¥याएको उनीहरु बताउँछन् ।

केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको हनुमान नगरकङ्कालिनी नगरपालिका–१ भारदहका किसान बच्चालाल मण्डलले बताए ।  जग्गा धनीसँग वार्षिक भाडामा लिएबापत एक बिघा जग्गाको रु ३० हजार र्तिनुपर्छ । कोसी किनारमा किसानले लगाएको केरा छठको बेला बढी बिक्री हुने गर्दछ । केराखेतीमा विभिन्न प्रकोपको समस्या खेपिरहेका किसानहरुमा बाढीको चपेटा थपिएको हो ।

केराखेतीबाट दशैँ तिहारका बेला राम्रो आम्दानी गर्दै आए पनि यस वर्ष बाढीले केराका बोट नै नष्ट गरेको केराखेती तथा व्यापार गर्दै आएका इनर्देव लोगीले बताए । केराखेती नष्ट हुँदा घर खर्चसमेत चलाउन समस्या हुने अवस्था आएको भलुवाका किसान दिलीप यादव बताए । ‘बैंकबाट ऋण लिएर केराखेती गरेको थिएँ तर एक्कासी बाढी पसेर केराको बोट सुक्दा लगानी त गयो गयो मेहनत खेर जाने भयो,’ उनले भने ।

किसानले हालसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वैशाखमा पनि पानीसँगै हावाहुरी आउँदा केरा ढलेर क्षति पुगेको थियो । यस क्षेत्रमा उत्पादित केरा राजधानी काठमाडौं, पश्चिम नेपालगञ्ज, पुर्वमा काँकरभिट्टासम्म बिक्रिका लागि पुर्‍याइने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal