Skip to content
Prabhu

‘मैले कार्यक्रमको पाटो हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ’ : रवि लामिछाने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ । शुक्रबार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरूमा सोधपुछ गरेको हो ।

जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने कुरा राखेको समिति सभापति सूर्यबहादुर थापाले बताए । उनले सभापति लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको पनि जानकारी गराए ।

‘सोधपुछको क्रममा उहाँले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ । जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यावसायिक संलग्नताका बारेमा बताउनुभएको छ । करिब ५० वटा प्रश्नहरू उहाँसँग छन् । आधा जतिमा सोधपुछ गरिरहेका छौँ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरू त्यहाँ समावेश नभएको अहिलेसम्म ती कुराहरू राख्नुभयो । कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ उनले भने ।

सभापति थापाले आजको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal