काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार ( २०८१, कृष्ण रिजाललाई प्रदान गरिने भएको छ ।लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललार्ई प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर २०८१ भदौ २१ गते शुक्रबार प्रदान गर्ने छ ।
देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रबर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । फाउन्डेसनले पहिलोेपटक नेपाल आर्थिक पत्रकार समाज (सेजनंलाई सम्मान गरेको थियो । त्यसयता सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल तथा यज्ञ बञ्जाडेलाई प्रदान गरिएको थियो ।
देशको सर्वाङ्गीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सुसूचित गराउन खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्ष पुरस्कारका लागि छनोट भएका रिजाल विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी नयाँ पत्रिकका आर्थिक ब्यूुरो प्रमुख छन् । त्यसअघि उनले नेपाल समाचारपत्र दैनिक तथा आर्थिक अभियान दैनिकमा काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्