Skip to content

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैनः प्रधानमन्त्री ओली

nabil bank
जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको सोमबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए।

उनले भने, ‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।’ वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

‘यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।’

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग १ अर्ब १० करोड रुपैयाँमा १५ रोपनी जग्गा खरिद गरेर १ अर्ब २६ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime