Skip to content
Prabhu

भरतपुर महानगरको २६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए

nabil

भरतपुर । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताए ।

उनले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरे । उनले भने, ‘महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।’ शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताए । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने। ३० वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ १ सय ८९ र अन्य ७७ जना छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal