Skip to content
Prabhu

देउमाई नगरपालिकाद्वारा जन्मदर्ता र मृत्युदर्ता गराए ५ हजार सहयोग

इलाम । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत ५ हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो ।

देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए ५ हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार रुपैयाँ पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई १५ लाख ६० हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनै पनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए। सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकारात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उनको भनाइ छ ।

त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत ५ हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले १० लाख २० हजार रुपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।

घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई ९ लाख ५० हजार रुपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट ३५ लाख चार हजार रुपैयाँ पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एकमुष्ठ २ हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए ।

देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो । यसैगरी नगरपालिकाले आव २०८१÷८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ ।

देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत पाँच हजार रुपैयाँका दरले एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए। देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाइले आव २०७९÷८० मा दीर्घ रोगी ४० जनालाई रु दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal